
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकका सामु रहेका समस्या समाधानमा पर्यटन उद्योगले योगदान दिन सक्नेगरी नीतिहरू बनाइनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले पर्यटनलाई प्रकृति र संस्कृतिसँग जोडेर लैजानुपर्ने बताए । “पर्यटन खासमा व्यवस्थापकीय कला हो, त्यो व्यवस्थापकीय क्षमतालाई कानुनले नियमन गर्नुपर्छ, कुनै न कुनै तरिकाले पर्यटकीय गतिविधिको लाभ समाजले पाउनुपर्छ”, मन्त्री पौडेलले भने । उक्त प्रस्ताव माथिको छलफलमा सांसद अशोकुमार चौधरी, सुशील खड्का, जगदीश खरेल, गणेश कार्की, खुश्बु ओली, रमेश मल्ल, गङ्गालक्ष्मी अवाल, बलावती शर्मा, रेनुका काउँचा, गणेशबहादुर विश्वकर्मा, निश्कल राई, जयपति रोकाया, पार्वती विक, प्रमिला कुमारी गच्छदार, जनकराज गिरी, गीताकुमारी सेन्दाङ, गुरुप्रसाद बराल, खड्ग शाही, रिना उप्रेती, विपिनकुमार आचार्य, सन्दीप राना, आरेन राई, हरिमोहन भण्डारी र लिमा अधिकारीले भाग लिए । त्यसअघि बैठकमा पर्यटनमन्त्री पौडेलले ‘पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले सो विधेयकमाथि संशोधन राख्न चाहनुहुने सांसदले संसद् सचिवालयमा दिन सक्ने जानकारी गराए ।