
काठमाडौं । हिमाली र पहाडी भेकमा सोमबार उल्लासका साथ फागु पूर्णिमा मनाइएपछि आज तराई-मधेशका जिल्लाहरू रङ र अबिरको उत्सवमा झुमेका छन् । परम्परा अनुसार पहाडमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने चलन रहेकाले आज यस क्षेत्रमा विशेष रौनक देखिएको छ ।
होलीको अवसरमा सरकारले आज तराई-मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । भूगोल र भाषा अनुसार यस पर्वलाई फरक-फरक नामले सम्बोधन गर्ने गरिन्छ । पहाडमा ‘फागु पूर्णिमा’ भनिने यो पर्व तराईमा ‘होली’ र मैथिली भाषी समुदायमा ‘फगुआ’ वा ‘होरी’ का रूपमा स्थापित छ ।
सांस्कृतिक सहर जनकपुरधाममा भने होली मनाउने आफ्नै विशिष्ट शैली छ । यहाँ १५ दिने मिथिला मध्यमा परिक्रमा अन्तर्गत ‘अन्तरगृह परिक्रमा’ सम्पन्न भएको भोलिपल्ट मात्र होली मनाउने प्राचीन परम्परा छ । परिक्रमामा सहभागी हजारौँ श्रद्धालुहरू आफ्नो गन्तव्यमा फर्किएपछि यहाँको होली सुरु हुन्छ । यसै अवसरमा जनकपुरमा आयोजना गरिने ‘महामूर्ख सम्मेलन’ र पारम्परिक ‘होरी गायन’ (जोगिरा) ले पर्वको माहोललाई थप रोचक र सांगीतिक बनाउने गर्दछ ।
होलीलाई केवल रङहरूको पर्वका रूपमा मात्र नभई सामाजिक सद्भाव र समानताको प्रतीकका रूपमा पनि लिइन्छ । हिन्दु , मुस्लिम , सिख , इसाई , किराँत लगायत विभिन्न धर्मावलम्बी र जातजातिलाई एउटै रङमा रङ्गाउँदै यसले आपसी भाइचारा र एकताको सन्देश दिने गरेको छ । असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको उत्सवका रूपमा यो पर्व परापूर्वकालदेखि मनाइँदै आइएको हो ।
मिथिलाञ्चलमा होलीको धार्मिक एवं सांस्कृतिक पक्ष कृषिसँग पनि जोडिएको छ । आगोमा चीर डढाउने र नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा ग्रहण गर्ने यहाँको मौलिक चलन हो । यसलाई स्थानीय भाषामा ‘होला’ पोल्ने पनि भनिन्छ । यस्ता गतिविधिले मानिसमा नयाँ उमङ्ग र उत्साहको सञ्चार गर्ने जनविश्वास छ ।