
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत फागुन २१ (भोलि) हुने मतदान प्रक्रिया र आवश्यक कागजातका सम्बन्धमा स्पष्ट पारेको छ । निर्वाचनलाई स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन आयोगले मतदाताहरूले मतदान केन्द्रमा पालना गर्नुपर्ने नियम र आवश्यक कागजी प्रमाणबारे जानकारी दिएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरूलाई आफ्नो परिचय खुल्ने आधिकारिक कागजातसहित मतदान केन्द्रमा उपस्थित हुन आग्रह गरेका छन् । आयोगका अनुसार मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । तर, कुनै कारणवश परिचयपत्र नभएका मतदाताहरूलाई पनि मतदानको अधिकारबाट वञ्चित नगर्ने नीति आयोगले लिएको छ ।
वैकल्पिक कागजात
यदि कुनै मतदाताको परिचयपत्र हराएको, च्यातिएको वा नष्ट भएको छ भने पनि चिन्ता लिनुपर्ने अवस्था छैन । प्रवक्ता भट्टराईका अनुसार मतदाता नामावलीमा नाम भएका नागरिकले देहायका सरकारी कागजातको सक्कल प्रति देखाएर मतदान गर्न सक्नेछन् :-
१. नेपाली नागरिकताको प्रमाणपत्र
२. राहदानी (पासपोर्ट)
३. राष्ट्रिय परिचयपत्र
४. सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)
५. जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)
मतदान गर्ने प्रक्रिया
मतदान केन्द्रमा पुगेपछि मतदाताको नामावली रुजु गरिनेछ । त्यसपछि मतदाताले दुईवटा छुट्टाछुट्टै प्रक्रियामार्फत आफ्नो मत जाहेर गर्नुपर्नेछ । सबैभन्दा पहिले मतदाताले ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) तर्फको मतपत्र प्राप्त गर्नेछन् ।
गोप्य मतदान कक्षमा पुगेर आफूले चाहेको उम्मेदवारको चिन्हमा छाप लगाएपछि उक्त मतपत्र प्रत्यक्षतर्फको मतपेटिकामा खसाल्नुपर्नेछ । प्रत्यक्षतर्फको मतदान सकिएलगत्तै मतदातालाई समानुपातिकतर्फको मतपत्र उपलब्ध गराइनेछ । यसमा मतदाताले आफूलाई मन परेको राजनीतिक दलको चुनाव चिन्हमा छाप लगाई दोस्रो मतपेटिकामा खसाल्नुपर्ने व्यवस्था मिलाइएको छ ।
मतदान केन्द्रमा हुनसक्ने सम्भावित भीडभाडलाई मध्यनजर गर्दै आयोगले विशेष व्यवस्थापन गरेको छ । मतदाताको सहजताका लागि प्रवेश गर्ने र बाहिरिने द्वारहरू छुट्टाछुट्टै बनाउन निर्देशन दिइएको छ ।