
काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन मुलुकभरको आन्तरिक हवाई उडान पूर्ण रूपमा ठप्प नहुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निर्वाचनको समयमा पनि आवश्यकता र मागका आधारमा आन्तरिक उडानहरू सञ्चालन गरिने स्पष्ट पारेको छ ।
प्राधिकरणका अनुसार निर्वाचनको दिन आन्तरिकतर्फका सबै प्रकारका उडानहरू यात्रुको चाप र आवश्यकतालाई हेरेर व्यवस्थापन गरिनेछ । यस्तै, अन्तर्राष्ट्रिय उडानको हकमा भने मध्यपूर्वी मुलुकहरूबाहेक अन्य सबै गन्तव्यमा नियमित उडानहरू जारी रहने प्राधिकरणले जनाएको छ ।
मध्यपूर्वी गन्तव्यका उडानहरूका सन्दर्भमा भने त्यहाँको वर्तमान परिस्थिति, सम्बन्धित देशको निर्णय र विमानस्थलको अवस्थालाई मध्यनजर गरिनेछ । ती क्षेत्रका उडानहरू वायुसेवा कम्पनीहरूले तय गर्ने संशोधित उडान तालिकाअनुसार मात्र सञ्चालन हुनेछन् ।
विकसित पछिल्लो परिस्थितिका कारण ती क्षेत्रका सबै उडानहरू हालका लागि स्थगित गरिँदै आएको समेत प्राधिकरणले उल्लेख गरेको छ । निर्वाचनको समयमा सडक यातायातमा कडाइ गरिने भए पनि हवाई मार्गबाट यात्रा गर्नेहरूका लागि भने प्राधिकरणको यो निर्णयले सहजता प्रदान गर्ने देखिएको छ ।