
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्ग्रस्त क्षेत्रमा वितरण गरिने खाद्यान्न, पानी तथा लत्ताकपडाको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ । मन्त्रालयले राहत सामग्री गुणस्तरहीन भएमा विपद्ग्रस्त क्षेत्रमा महामारी फैलन सक्ने जोखिम औंल्याउँदै सबैलाई सचेत गराएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार आयोजना गरेको राहत व्यवस्थापनसम्बन्धी छलफलमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश बुढाथोकीले संकटको समयमा वितरण गरिने पिउने पानी र खाद्यान्न स्तरहीन भएमा विपद्ग्रस्त क्षेत्रमा महामारी र प्रकोप फैलन सक्ने जोखिम रहेको बताए । उनले वितरण गरिने खाद्यान्न र लत्ताकपडाको गुणस्तरीयता कायम राख्न सबैलाई आग्रह गरे । मिनरल वाटर वितरण गरे पनि विपद्ग्रस्त क्षेत्रमा पिउने पानी उमालेर प्रयोग गर्नुपर्ने सन्देश पुर्याउन आवश्यक रहेको उनले औंल्याए ।
बुढाथोकीले भने, ‘यहाँहरूले मानवीय संवेदनशीलतामा सचेत भएर काम गरिदिएनन् भने अबको एक-दुई हप्तामा फेरि महामारी फैलिन्छ । अहिलेको अवस्थामा जुनसुकै स्रोत वा मुहानको पानी भए पनि उमालेर मात्र पिउनुपर्छ भन्ने साझा सन्देश जानुपर्छ । त्यसकारण सबै नागरिकलाई त्यहीअनुसारको निर्देशन देऊ। नत्र भने पानी प्रदूषण भएकै कारणले हैजा, झाडापखाला, टाइफाइडजस्ता रोगहरूको प्रकोप फैलने सम्भावना रहन्छ। त्यसकारण यस कुरामा संवेदनशील रहनुपर्छ। अर्को, खानेकुरामा पनि सचेत रहन आवश्यक छ । ताजा खानेकुरा बनाएर दियो भने सबैभन्दा राम्रो। यदि त्यो सकिएन भने जंकफुडहरू दिएर भोलिको दिनमा बिरामी बढाउने काम विपद्को बेलामा हतारमा दिनुपर्छ भनेर नगर । तयारी खानेकुरामा म्याद हेरेर मात्र वितरण गर । म्याद गुज्रिएको खानेकुरा छ भने त्यसले भोलिको दिनमा अर्को महामारी फैलाउन सक्छ ।’
मन्त्रालयले डुबानग्रस्त क्षेत्रका पानीका मुहानहरू दूषित भएको अवस्था रहेकाले पिउने पानीको स्वच्छता सुनिश्चित गर्न नसके एक साताभित्र हैजा लगायतका महामारी र प्रकोप देखा पर्न सक्ने भन्दै त्यसतर्फ गम्भीर हुन आग्रह गरेको छ ।