
भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज भक्तपुरमा एक विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका-७ गुण्डुमा आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट’ कार्यक्रमलाई ओलीले सम्बोधन गर्न लागेका हुन् ।
दिउँसो २ बजेका लागि निर्धारित यस कार्यक्रममा अध्यक्ष ओलीले देशको पछिल्लो राजनीतिक अवस्था, एमालेको भूमिका तथा नेता कार्यकर्ताले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे विस्तृत प्रकाश पार्ने बताइएको छ । देशमा उत्पन्न असामान्य परिस्थितिलाई मध्यनजर गर्दै अध्यक्ष ओलीको सम्बोधनलाई चासोका साथ हेरिएको छ ।
भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाका अनुसार कार्यक्रममा पार्टीका महासचिव शङ्कर पोखरेलसहित केन्द्रीय तथा स्थानीय तहका नेताहरूको उपस्थिति रहनेछ । यो कार्यक्रम आसन्न निर्वाचन र बदलिँदो राजनीतिक ध्रुवीकरणका सन्दर्भमा एमालेको रणनीति बुझ्न महत्वपूर्ण हुने विश्वास गरिएको छ । कार्यक्रमस्थलमा भव्य तयारी गरिएको छ ।