
काठमाडौं । अर्घाखाँचीमा आज बिहान भएको एक जिप दुर्घटनामा परी दुई जना बालबालिकाले ज्यान गुमाएका छन् । गुल्मीको मदानेका लागि छुटेको जिप सन्धिखर्क नगरपालिका-९, टारीमा सडकबाट २७ मिटर तल खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, सन्धिखर्कबाट गुल्मीको मदाने जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब ३:३० बजे दुर्घटनामा परेको थियो । यस दुर्घटनामा गुल्मी घर भएकी १० वर्षीया अरुणा थापा र १३ वर्षीय नारायण पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर झलक शर्माले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनामध्ये दुई जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको । अन्य दुई जना घाइतेको उपचार अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली पुगेर उद्दार कार्यमा खटिएको थियो भने दुर्घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर शर्माले बताए ।