
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तत्काल राजनीतिक क्रियाकलापमा बन्देज लगाउन माग गरेको छ । रास्वपाले जेनजी आन्दोलनका क्रममा भएको दमन र हिंसाको छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म उनीहरूलाई राजनीतिक गतिविधिबाट अलग राख्न सरकारको ध्यानाकर्षण गराएको हो ।
रास्वपा प्रवक्ता मनीष झाद्वारा बुधबार साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार मन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउने ।’
मंगलबार र बुधबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले यो महत्वपूर्ण निर्णय गरेको हो । विज्ञप्तिमा उल्लेख भएअनुसार, रास्वपाले २०४६ सालदेखि उच्च सार्वजनिक ओहदामा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न पनि सरकारलाई दबाब दिएको छ ।
जेनजी आन्दोलनका क्रममा विभिन्न नेताहरूको निवासमा भेटिएका अवैध नगद तथा अन्य चलअचल सम्पत्तिबारे सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न पनि रास्वपाले सरकारसँग माग गरेको छ । पार्टीले सुशासन र पारदर्शिताको पक्षमा दृढतापूर्वक उभिएको सन्देश यस निर्णयमार्फत दिएको छ ।
