काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । पार्टीको आगामी रणनीति र कार्यदिशा तय गर्न महत्वपूर्ण मानिएको बैठक बिहान ११ बजे प्रज्ञा भवन, कमलादीमा सुरु हुनेछ ।

यसअघि बुधबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरेको थियो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान राजनीतिक परिस्थिति, पार्टीको भूमिका र भावी कार्यदिशाबारे राजनीतिक प्रतिवेदन पेस गर्नेछन्, जसउपर केन्द्रीय सदस्यहरूले व्यापक छलफल गर्नेछन् ।

यसका साथै, आगामी दिनमा पार्टीलाई थप सुदृढ र गतिशील बनाउन विशेष महाधिवेशन आयोजना गर्ने प्रस्तावमाथि छलफल र निर्णय हुनेछ । फागुन २१ गते आम निर्वाचन गर्ने लगायतका चुनावी रणनीति तथा तयारीका विषयमा पनि बैठकमा गहन छलफल हुनेछ ।

पार्टी एकता तथा ध्रुवीकरणको विषयले पनि बैठकमा प्राथमिकता पाउनेछ, जहाँ कम्युनिष्ट आन्दोलनको एकता र विभिन्न समूहसँगको ध्रुवीकरणका निर्णयहरू लिइनेछ । देशमा आइपर्ने विपत्तिहरूमा पार्टीको भूमिका र राहत तथा पुनर्निर्माणका कार्यहरूमा सक्रियता बढाउनेबारे पनि छलफल हुनेछ । जनतासँगको सम्बन्धलाई थप बलियो बनाउन र जनपरिचालनका कार्यक्रमहरूलाई प्रभावकारी बनाउने रणनीतिमाथि विचारविमर्श गरिनेछ ।

यसैगरी, जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि एजेन्डामा समावेश गरिएको छ । 

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights