
काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले भारतको कोलकातातर्फको उडान पुनः सुरु गर्ने भएको छ । बुद्ध एयरले आउँदो अक्टोबर १९ बाट काठमाडौं–कोलकाता सीधा हवाई सेवा पुनः सुरु गर्न लागेको हो ।
बुद्ध एयर कोलकातासम्म सीधा उडान गर्ने एकमात्र नेपाली विमान सेवा कम्पनी हो । हाल सो रुटमा अन्य कुनै एयरलाइन्सको सेवा छैन । शुरुआतमा बुद्ध एयरले आइतबार, मंगलवार र बिहीबार गरी सातामा तीन दिन उडान सञ्चालन गर्ने जनाएको छ । कोलकाताबाट स्थानीय समयअनुसार बिहान ९ः२० बजे फर्किनेछ ।
उक्त उडान एटीआर–७२ जहाजमार्फत हुनेछ, जसको उडान अवधि करिब १ घण्टा ३५ मिनेटको हुनेछ । कोलकाता उडानसँगै बुद्ध एयरले बुद्ध होलिडेज मार्फत नेपाल–भारतबीचका धार्मिक तथा सांस्कृतिक गन्तव्यमा केन्द्रित आउटबाउन्ड र इनबाउन्ड टुर प्याकेजहरू पनि सञ्चालन गर्दैछ ।
नेपालबाट भारत जाने यात्रुहरूका लागि जगन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागर आदि प्याकेज उपलब्ध हुनेछन् । भारतबाट नेपाल आउने पर्यटकका लागि विभिन्न धार्मिक र सांस्कृतिक गन्तव्यहरूमा केन्द्रित प्याकेज तयार पारिएको कम्पनीले जनाएको छ ।
व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै उद्देश्य होस्, कोलकाता उडानमार्फत भारतको पर्यटक भित्र्याउने लक्ष्य कम्पनीले लिएको छ । बुद्ध एयरले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले यी उडान तथा प्याकेज सेवा सुरु गरेको जनाएको छ ।
बुद्ध एयरले यसअघि नै भारतको वाराणसीतर्फ सोमबार, बुधबार र शुक्रबार नियमित उडान गर्दै आएको छ । देशभित्र पनि कम्पनीले दिनहुँ ६० भन्दा बढी आन्तरिक उडानहरू सञ्चालन गरिरहेको छ ।
बुद्ध एयरले पहिलोपटक २०७६ वैशाख २ गतेदेखि कोलकातातर्फको उडान सुरु गरेको थियो । तर, कोभिड–१९ महामारीका कारण २०७७ मंसिर १६ गतेदेखि सो सेवा अस्थायी रूपमा स्थगन गरिएको थियो । अब झण्डै तीन वर्षपछि पुनः सेवा सुरु हुन लागेको हो ।