काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता दीपक खड्काको बूढानीलकण्ठस्थित निवासमा आगजनीपछि भेटिएको भनिएको रकमको विषयमा अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पार्दै जलेका नोटका टुक्रा र खरानी संकलन गरेको हो ।

गत भदौ २४ गते ‘जेन-जी’ आन्दोलनका क्रममा प्रदर्शनकारीले देउवा र खड्काको घरमा तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि घरभित्र नेपाली र विदेशी नोट जलेको अवस्थामा भेटिएको भन्दै केही भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । यद्यपि, ती भिडियो र तस्बिरको फरेन्सिक परीक्षण हुन बाँकी नै छ । घटनाको डेढ सातापछि विभागले यसमाथि छानबिन थालेको हो ।

विभागका अधिकारीका अनुसार, सामाजिक सञ्जालमा फैलिएका विवरणहरूको प्रारम्भिक अध्ययनपश्चात् टोली घटनास्थलमा पुगेको हो । ‘आगजनी भएका कतिपय नेताका घरमा नोट भेटिएको र कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेको भनी विभिन्न तस्बिर र भिडियो बाहिरिएका थिए, यसमा हामीले सूक्ष्म रूपमा नियालिरहेका थियौं,’ ती अधिकारीले भने, ‘अहिले बाहिर आएका विवरणहरूको प्रारम्भिक स्क्रिनिङपछि घटनास्थलमै गएर हेरिएको छ ।’

विभागले संकलन गरेको खरानी र नोटका टुक्रा सक्कली भएको पुष्टि भएमा देउवा र खड्का सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिन सक्नेछन् भने उनीहरूको सम्पत्ति आर्जनको स्रोतमाथि पनि छानबिन हुनेछ । यसैबीच, राजस्व अनुसन्धान विभागले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

विभागको टोलीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित जलेको निवासको पनि अवलोकन गर्ने तयारी गरेको छ । उनको घरमा पनि आगजनीपछि प्रहरी खटाइएको छ र उनी अहिले अन्यत्र बस्दै आएका छन् ।

यता, कांग्रेस सभापति देउवाको सचिवालयले भने जलेको रकम र सुरुङमा पैसा राखेको भनी सार्वजनिक भएका भिडियोहरू भ्रामक भएको दाबी गरेको छ । देउवाका सहयोगी भानु देउवाले असोज २ गते जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा देखिएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामक रहेको तथा दूषित मनसायले बदनाम गर्ने उद्देश्यले फैलाइएको उल्लेख गरेका छन् । ‘त्यस्तो जघन्य आपराधिक घटनापछि पनि पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा देउवा निवासमा अत्यधिक पैसा भेटिएको, पैसाको सुरुङ रहेको जस्ता कपोकल्पित समाचार सम्प्रेषण भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights