काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो चरणमा पाँच जना नयाँ मन्त्रीहरू नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छिन् । भ्रष्टाचारविरुद्धको ‘जेन-जी’ आन्दोलनबाट उदाएर गत भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले यसअघि भदौ ३० गते तीन मन्त्री नियुक्त गरेकी थिइन् ।

पहिलो चरणमा अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल, र ऊर्जा, भौतिक, यातायात तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ नियुक्त भइसकेका छन् । आइतबार सिफारिस गरिएका नयाँ मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिल सिन्हा, अतिरिक्त स्वास्थ्यसचिव संगीता कौशल मिश्रा, वैज्ञानिक महावीर पुन, पत्रकार जगदीश खरेल र समता फाउन्डेसनका अध्यक्ष मदनप्रसाद परियार रहेका छन् ।

१    प्रधानमन्त्री कार्यालयका अनुसार, सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल सिन्हालाई उद्योग तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  उनी उद्योग र वाणिज्यसम्बन्धी मामिलाका जानकार हुन् र संवैधानिक प्रश्न निरूपणमा पनि उनको महत्त्वपूर्ण योगदान छ ।

२    स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई उक्त पदबाट राजीनामा गराएर स्वास्थ्यमन्त्रीमा सिफारिस गरिएको छ । उनी चिकित्सकका साथै नेतृत्व व्यवस्थापनमा अब्बल मानिन्छिन् र कोभिड महामारीको समयमा कोशी अस्पतालको सफल नेतृत्व गरेर प्रशंसा कमाएकी थिइन् ।

३    प्रसिद्ध वैज्ञानिक तथा आविष्कारक महावीर पुन लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मा दिइएको छ । म्यागासेसे पुरस्कार विजेता पुनले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरिरहेका छन् र नेपाली युवालाई आविष्कारमा प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

५    पत्रकार जगदीश खरेल लाई सञ्चारमन्त्रीमा सिफारिस गरिएको छ । इमेज टेलिभिजनका समाचार प्रमुख खरेल हटसिट कार्यक्रममा लिने अन्तर्वार्ता शैलीका कारण चर्चित छन् र दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् ।

६    दलित समुदायको हकहित र सामाजिक न्यायका लागि क्रियाशील समता फाउन्डेसनका अध्यक्ष मदनप्रसाद परियार लाई कृषिमन्त्रीको जिम्मेवारी दिइएको छ । उनी दलित अधिकार, सामाजिक न्याय र जलवायु न्यायका लागि आवाज उठाउँदै आएका एक सामाजिक अभियन्ता हुन् ।

राष्ट्रपति कार्यालयले पाँचै जनाको नाम आइसकेको र राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) नियुक्त गरेर शपथ गराउने जनाएको छ । यद्यपि, डा. मिश्राको नाममा केही प्रश्न उठेपछि सबैको नियुक्ति ‘होल्ड’ गरिएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा
प्रधानमन्त्री कार्कीले ११ सदस्यीय सानो र छरितो मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी थिइन् । गत आइतबार नै सात मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य भए पनि केही नाममा प्रश्न उठेपछि हाललाई पाँच जनाको नाम मात्रै सिफारिस गरिएको हो ।

प्रधानमन्त्री कार्कीले जेन-जी समूहबाट बब्लु गुप्ता र पिछडिएको क्षेत्रबाट मोहना अन्सारीलाई मन्त्री बनाउने तयारी गरे पनि सहमति नजुट्दा हाललाई रक्षा र परराष्ट्र मन्त्रालय आफैँसँग राख्ने मनस्थिति बनाएकी छिन् । वन मन्त्रालयमा मधेशबाट एक जनालाई नियुक्त गर्न सकिने स्रोतले जनाएको छ ।

सरकारले हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोग सचिवालयको विशिष्ट श्रेणी पदमा सरुवा गरेर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक (एमडी)मा मनोज सिलवाल लाई नियुक्त गरेको छ । त्यसैगरी, गुप्तचरको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । वरीयतामा एआइजी ओम जोशी सिनियर भए पनि सरकारले दोस्रो वरीयतामा रहेका कार्कीलाई चयन गरेको हो ।

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights