
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताएकी छिन् । संविधान दिवसको अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले जेन जी पुस्ताको आन्दोलनले संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानूनी राज्य र सुशासन लगायतका लोकतान्त्रिक मूल्य, मान्यतामा आफूहरू खरो उत्रिन नसकेको परिणाम भएको उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनबारे जानकार युवापुस्ताले उठाएका रोजगारीका अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता सवालहरू यथार्थमै सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा भएको बताइन् ।
उनले भनिन्, ‘यी एजेन्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिबद्ध छ। मैले कुनै शासकीय आकांक्षा बोकेर वा पदको लालसा लिएर प्रधानमन्त्री बनेको होइन । देश संकटमा रहेको बेलामा परिवर्तनगामी युवा पुस्ताको अनुरोधका आधारमा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापन गर्दै नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री बनेको हुँ ।’
प्रधानमन्त्री कार्कीले संविधान दिवस सबै नेपालीले गौरव गर्ने दिन भएको बताउँदै यो केबल उत्सव मात्र नभइ संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन पनि भएको उल्लेख गरिन् ।