काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA) को आगामी निर्वाचनमा फुर गेल्जे शेर्पाले अध्यक्ष पदका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। “पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि मेरो उम्मेदवारी” भन्ने नारासहित उनले आफ्नो विस्तृत कार्ययोजना सार्वजनिक गर्दै संघको विधान र परिधिभित्र रही सदस्यहरूको हकहित संरक्षण, अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उकास्ने र पर्वतारोहण क्षेत्रलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।

शेर्पाले भदौं ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने निर्वाचनका लागि प्रस्तुत योजनामा ‘माउन्टेन टुरिजम युनिभर्सिटी’ स्थापना, अन्तर्राष्ट्रियस्तरको आरोहण तालिम केन्द्र सञ्चालन, आरोही कल्याणकारी कोषलाई व्यवस्थित गर्दै आपतकालीन उद्धार प्रणालीलाई प्रभावकारी बनाउनेजस्ता एजेन्डा समावेश गरेका छन्। उनका अनुसार नेपालमै उच्चस्तरीय अध्ययन र तालिमको सुविधा उपलब्ध गराउन सके विदेशी विद्यार्थी र प्रशिक्षार्थीलाई समेत आकर्षित गर्न सकिनेछ।

उनले हिमाल आरोहणमा विश्व कीर्तिमान राखेकालाई अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष सुविधा प्रदान गर्ने, जलवायु परिवर्तनबाट प्रभावित हिमाली क्षेत्रमा प्रत्यक्ष संरक्षण कार्यक्रम सञ्चालन गर्ने र स्थानीयस्तरमै ‘रेस्क्यू टिम’ गठन गरी तत्काल उद्धार सुनिश्चित गर्ने योजना पनि अघि सारे।

अध्यक्ष पदका उम्मेदवार शेर्पाले आफ्नो समूहका पदाधिकारीहरूको नामावली पनि सार्वजनिक गरेका छन्। जसअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पिडकाजी), द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पाले उम्मेदवारी दिएका छन्। त्यस्तै, सदस्यमा केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, माधवकुमार धमला, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डंगोल, डोल्मा लामा र निशा भोटे रहेका छन्।

सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा जन्मिएका शेर्पा सन् १९९९ देखि २००२ सम्म संघको कार्यसमिति सदस्य तथा एक कार्यकाल विदेश विभाग प्रमुखको रूपमा कार्यसम्पादन गरिसकेका छन्। उनले हिमाली क्षेत्रमा उद्धार, समाजसेवा र पर्वतीय पर्यटनको प्रवर्द्धनमा दुई दशकभन्दा बढी समय सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights