
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भारतका टी–२० कप्तान सूर्यकुमार यादवलाई आगामी खेलहरूमा राजनीतिक टिप्पणी नगर्न निर्देशन दिएको छ ।म्याच रेफ्री रिची रिचर्डसनले सूर्यकुमारलाई यस सम्बन्धमा सचेत गराएका हुन् । पाकिस्तानको क्रिकेट टोली व्यवस्थापनको उजुरीका आधारमा आइसिसीले यो कदम चालेको हो ।
गत १४ सेप्टेम्बरमा एसिया कपको समूह चरणको खेलमा भारतले पाकिस्तानलाई हराएपछि सूर्यकुमारले एक विवादास्पद टिप्पणी गरेका थिए । उनले पाकिस्तानविरूद्धको जित पहलगाम आतंककारी हमलाका पीडितका परिवारहरूलाई समर्पित गर्ने भनेका थिए, जसलाई पाकिस्तानले राजनीतिक मानेको थियो ।
पाकिस्तान क्रिकेट बोर्डले यस विषयलाई पछिल्लो हप्ता लाहोरमा आयोजित पत्रकार सम्मेलनमा उठाएको थियो । यसका अतिरिक्त, सूर्यकुमारले ‘अपरेशन सिन्दूर’ शब्द प्रयोग गरेकोमा पनि पाकिस्तानले आपत्ति जनाएको थियो । यो शब्द भारतीय सरकारद्वारा अप्रिलमा पहलगाम आतंककारी हमलापछि प्रयोग गरिएको थियो ।
आइसिसीको निर्देशन अनुसार, सूर्यकुमारलाई भविष्यमा खेलका दौरान कुनै पनि राजनीतिक टिप्पणी नगर्न आग्रह गरिएको छ । यद्यपि, यस विषयमा थप कारबाही हुने वा नगर्ने कुरा स्पष्ट भइसकेको छैन ।
त्यसै गरी, पाकिस्तान र भारत बीचको सुपर फोरमा भएको खेलमा खेलाडीहरूको आक्रमक हाउभाउलाई लिएर आइसिसीले सुनुवाइ गर्ने घोषणा गरेको छ । यस खेलमा साहिबजादा फरहान र हरिस रउफको व्यवहारले ध्यान आकर्षित गरेको थियो ।