काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सुपर फोरको दोस्रो खेलमा बंगलादेशमाथि ४१ रनको प्रभावशाली जित निकाल्दै भारतले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो ।

यूएईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा भारतले अलराउन्ड प्रदर्शन गर्दै बंगलादेशलाई पराजित गर्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । भारतका लागि युवा ओपनर अभिषेक शर्माले सानदार अर्धशतकीय पारी खेले । उनले मात्र ३७ बलमा ५ छक्का र ६ चौकासहित विष्फोटक ७५ रन जोडे ।

यस्तै, हार्दिक पाण्डेयले ३८ रनको महत्वपूर्ण योगदान दिँदा शुभमन गिलले २१ रन बनाए । बंगलादेशका बलरमध्ये रिशाद हुसैनले २ विकेट लिए भने ताजिम हसन, मुस्तफिजुर रहमान र मोहम्मद सैफुदिनले १-१ विकेट हात पारे ।

१६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभर ३ बलमा १२७ रनमा अलआउट हुँदै लक्ष्य भेट्टाउन असफल रह्यो ।  बंगलादेशका साहिद हसनले एकातर्फबाट संघर्षपूर्ण अर्धशतक बनाए । उनले ५१ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै सर्वाधिक ६९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । प्राभेज हुसेनले २१ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बंगलादेशलाई सस्तैमा समेट्न भारतीय बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । भारतका सुलदीप यादवले घातक बलिङ गर्दै ३ विकेट लिए । यस्तै, तीव्र गतिका बलर जसप्रित बुमराह र वरुण चक्रवतीले २-२ विकेट हात पार्दा अक्षर पटेल र तिलक बर्माले १-१ विकेट लिए ।

यस जितसँगै भारतले एसिया कपको फाइनलमा आफ्नो स्थान पक्का गरेको छ । फाइनल खेल आगामी सेप्टेम्बर २८ तारिखमा हुनेछ, जहाँ भारतले बंगलादेश र पाकिस्तानबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights