
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपातीमा नौवटी देवीको प्रतीकको रूपमा नवपालुवाहरूलाई भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधना गरिन्छ । धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार, ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ । यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।’ फूलपाती भित्र्याउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने ऐतिहासिक परम्परा छ । यस वर्षको फूलपाती अपराह्न हनुमानढोकामा भित्र्याइने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।
गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउँछन् । जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले यसलाई ल्याउने गर्दछन् । जमलबाट हनुमानढोकासम्म भने निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा भव्य शोभायात्राका साथ फूलपाती भित्र्याइन्छ ।
शनिबार नै राजधानीबाट एक समूह धादिङको जीवनपुर फूलपाती लिन गएको थियो। जीवनपुरबाट स्वयम्भू हुँदै राजधानी आइपुगेको समूहले स्वयम्भूको वनबाट माने नामको फूल पनि नवपत्रिकामा समावेश गरेको छ । जमलमा हनुमानढोकाबाट गएको समूहले स्वागत गरी फूलपाती भित्र्याउने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाले जनाएको छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दशैंको सामाजिक चहलपहल आजैका दिनदेखि अझ तीव्र भएको छ । आजैदेखि सरकारी कार्यालयहरू पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरू सपरिवार दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम बढेको छ ।
यससँगै काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ। सधैं व्यस्त रहने सडकहरूमा गाडीको संख्या पातलिंदै गएको छ । गाउँघरमा भने लिङ्गेपिङ, रोटेपिङ र चङ्गा उडाएर रमाइलो गर्ने सांस्कृतिक परम्पराले दशैंको रौनकलाई अझ बढाएको छ ।