
काठमाडौँ । सरकारले दसैँ,तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताएका हुन् ।
शुक्रवार उनले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखेर सरकारले तोकेको अधिकतम मूल्य भन्दा कम मूल्यमा हवाई टिकट विक्री गरी यात्रुहरूलाई राहत दिन संवद्ध सबै पक्षलाई भनिएको जानकारी दिए । हवाई टिकटको न्यूनतमदेखि अधिकतमसम्मको मूल्य कानुनमा नै व्यवस्था गरिएको छ । त्यसमा अधिकतम मूल्य भन्दा कम मूल्यमा सो टिकट विक्री गर्न सेवा प्रदायक संस्थाहरूलाई भनिएको प्राधिकरणको भनाई छ ।
सूचना अधिकारी भुलले भने ‘देशमा पनि अहिले यस्तो अवस्था भएको हुनाले वायुसेवा कम्पनीका साथीहरूलाई बोलाएर कम्तीमा म्याक्सिमम फेयर नबेच्नु होला, त्यो भन्दा १/२ क्लास लोयर फेयरमा बेचिदिनुहोस् भनेर भनेका छौँ । त्यही अनुसार हाम्रो बुद्ध एयर अरू वायु सेवा कम्पनीहरूले काम गरिरहेको छ । सपोज अहिले बुद्ध एयरले धनगढीमा १२ हजार भन्दा माथिको टिकट नबेच्ने भनेर उहाँहरूले निन्टरनल्ली नै तयारी गर्नु भएको छ । वायु सेवा कम्पनीले नियम भित्र भएपनि उहाँहरूलाई अपर फेयरको टप मोष्ट फेयर भन्दा एक लेबल तल्लो क्लासको टिकट उहाँहरूले बेचिराख्नु भएको छ । हो स्वाभाविक रूपमा यात्रुहरूले एकैचोटी ट्राभल गर्दाखेरि डिमान्ड बढी भएर लोअर फेयरको टिकट भन्दा हाईएर फेयरको टिकट सोल्ड अलि बढी छ ।’
त्यसैगरी प्राधिकरणले चाडपर्वमा हवाई यात्रुहरूको सुविधालाई ध्यानमा राखेर अतिरिक्त उडानको व्यवस्था गरेको पनि जनाएको छ । नेपालमा दैनिक १० हजार यात्रुहरूले आन्तरिक उडान गर्ने गरेको तथ्याङ्क छ । प्राधिकरणका सूचना अधिकारी भुलले दशैँतिहारजस्तो समयमा त्यो संख्या बढेर दैनिक १८ हजारसम्म यात्रुहरू हुने गरेकाले अतिरिक्त उडानको पनि व्यवस्था गरिएको स्पष्ट पारे ।