काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व विजेता वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकाल्दै टेस्ट राष्ट्रलाई पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ ।

खेल नेपाली समय अनुसार राति ८ः१५ बजे यूएईको दुबईस्थित सारजहा क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रनको सम्मानजनक योगफल तयार पारेको थियो । कप्तान रोहित पौडेलको कप्तानी इनिङ्स (४२ रन) र कुशल भुर्तेलको आक्रामक सुरुवात (२५ रन) ले नेपाललाई बलियो आधार प्रदान गरेको थियो ।

१४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज नेपाली बलरसामु निरीह देखियो । वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । पहिलो खेलको शानदार जितसँगै नेपालले अबको खेल जितेर एक खेल अगाडि नै सिरिज आफ्नो पक्षमा पार्ने दाउमा छ । कप्तान रोहितकुमार पौडेलले सिरिज जित्ने लक्ष्यका साथ अघि बढेको बताइसकेका छन् ।

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली खेलाडी
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम ।

वेस्ट इन्डिज टोली
नेपालसँग खेल्ने टिममा अकिल होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर छन् ।

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights