काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पाठ्यक्रमको समसामयिक परिमार्जन र अध्यावधिक गर्न निर्देशन दिएका छन् । बुधबार पाठ्यक्रम विकास केन्द्रको अवलोकन तथा पदाधिकारीहरूसँगको छलफलपछि उहाँले मातृभाषाका पाठ्यपुस्तकहरूको विकास, नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास र संविधानसम्बन्धी ज्ञानलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री पुनले आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा १०० पूर्णाङ्कको कम्प्युटर विषय अनिवार्य गरिने भएकाले सोहीअनुसार पाठ्यक्रम विकास गर्न पनि निर्देशन दिए । उनले आफ्नो फेसबुकमार्फत् जानकारी गराउँदै भने, ‘पाठ्यक्रम विकास केन्द्रमा दुई घन्टा छलफल भयो । सामुदायिक र संस्थागत विद्यालयहरूको पाठ्यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नुपर्ने, पाठ्यक्रमको परिमार्जन र अद्यावधिक समयमा गर्ने, मातृभाषाका पाठ्यपुस्तकहरूको विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, संविधानसम्बन्धी ज्ञान दिने कुरालाई उच्च प्राथमिकता दिने निर्देशन दिएको छु ।’

मन्त्री पुनले बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को पनि अवलोकन गर्नुभएको थियो । त्यहाँ रहेका अत्याधुनिक प्रयोगशालाहरूको अवस्थाबारे जानकारी लिएपछि उहाँले प्रतिष्ठानको भवन र प्रयोगशालाहरू उच्च कोटिको रहेको र सोहीअनुसारको काम हुनुपर्नेमा जोड दिए ।

उनले नास्टको ३७ करोड रुपैयाँको कुल बजेटमध्ये २७ करोड रुपैयाँ प्रशासनिक खर्चमा र १० करोड रुपैयाँ मात्र अनुसन्धान तथा नवप्रवर्तनमा छुट्याइएकोमा चिन्ता व्यक्त गर्दै प्रतिष्ठानलाई उच्च कोटिको अनुसन्धान केन्द्र कसरी बनाउने भन्नेबारे सुझाव दिन त्यहाँ कार्यरत सबैलाई निर्देशन दिए ।

मन्त्री पुनले बुधबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पनि अवलोकन गरेका थिए । त्यहाँ तीन घन्टासम्म छलफल गरेपछि उहाँले शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूको समायोजन, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यापकहरूको नियुक्तिसम्बन्धी देशव्यापी कार्यविधि निर्माण, र अनलाइन सिकाइका लागि डिजिटल शैक्षिक सामग्रीहरूको निर्माणमा जोड दिन कार्यक्रम बनाउन निर्देशन दिएका छन् ।

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights